केरामा लाग्ने पानामा रोग के हो?
जनहितमा जारी
सम्पर्क: ०७१-४१८०१२, ९८५७०१६३७१
पानामा रोगको परिचय
केरामा लाग्ने पानामा रोगको कारक फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि ढुसीको एक अत्यन्त खतरनाक प्रजाति ट्रोपिकल रेस ४ (टि आर ४) नेपालमा पहिलो पटक देखा परेको छ । कैलाली जिल्लाको टिकापुरमा २०८० साल श्रावण महिनामा अवलोकन गरिएका नौ वटा केरा वगैंचा मध्ये ४ बटा बगैचामा ४ देखि ५० प्रतिशतसम्म विरुवामा पानामा रोगको संक्रमण देखिएको छ । ट्रोपिकल रेस ४ (टि आर ४), फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि ढुसीको पछिल्लो प्रजाती हो ।
फ्युज्यारियम ढुसीका कारण केरा बिरुवा ओइलाउने "पानामा रोग "लाग्दछ । यस रोगको कारक ढुसी माटोमा पाइने भएकाले माटोलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने जुनसुकै वस्तुवाट यो रोग फैलिन मदत मिल्दछ । हालसम्म यो रोग ब्यवस्थापनका लागि कुनै पनि बिधिहरु प्रभावकारी नभएको अवस्था भएकोले केरा बगानमा प्रयोग भएका सम्पुर्ण सामाग्रीहरुलाई निर्मुलीकरण गरेर नै रोगलाई एक ठाउँबाट अर्को ठाउँमा फैलनबाट रोक्न सकिन्छ ।
हालै मात्र देखिएको पानामा रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ भनिने टि आर ४ रोगले नेपालमा खेती गरिने सम्पूर्ण जातका केराहरूलाई पूर्णतया नष्ट गर्न सक्दछ ।
पानामा रोगको लक्षणहरु
लक्षण - १
यो रोग लागेमा शुरुमा पुराना पातको फेद पहेलो हुन्छ । त्यसपछि, पातको किनारा पहेंलिन थाल्छ र पात सुकेर डाँठहरू भाँचिन्छन् ।
पानामा रोगको ढुसिले आक्रमण गरेमा ४ देखि ५ महिना पछि विरुवामा लक्षण देखाउन थाल्छ । रोग संक्रमित विरुवा रोपण गरेमा रोग लागेको दुई महिना भित्र लक्षणहरु देखिन सक्छन् । शुरुको अवस्थामा पुराना / तलका पातको किनाराहरु र फेद पहेलो हुने हुन्छ । पहेलो हुने क्रम बिस्तारै विच तिर फैलिदै अन्त्यमा केराको पुरै पात पहेलो हुने गर्दछ । विशेषत: पानामा रोगको ढुसीले फेदबाट विस्तारै बिरुवाको माथीको भागमा आक्रमण गर्छ । संक्रमित पातहरु क्रमश सुक्दै जान्छ, डाँठहरू भाँचिदै जान्छन र विस्तारै नयाँ पात आउने क्रम रोकिदै जान्छ।
लक्षण - २
थाम ठाडो चिरेर भित्र हेर्दा खैरो रंग गानाबाट टुप्पातिर फैलिएको देखिन्छ । जराहरू कालो हुन्छन र सड्छन् । राता र खैरा धर्साहरु भित्रपट्टिको भागमा स्पष्ट देखिन्छन् । यि धर्साहरु विस्तारै थामको माथि तिर बढ्न थाल्छन् । यो ढुसी माटोमा बस्दछ र जराबाट विरुवा भित्र पस्दछ । यस ढुसीले विरुवाका नसा Vascular bundle बन्द गराउदछ, जसका कारण बोटलाई माटोबाट प्राप्त हुने पानी र पोषक तत्वको आपुर्ति बन्द हुन्छ । फलस्वरुप बोट ओइलाउने र क्रमश बोट नै मर्ने भइ सम्पुर्ण उत्पादन नष्ट हुने गर्दछ । यो ढुसी प्रतिकुल वातावरणिय अवस्थामा कडा विजाणु (क्यालमाइडोस्पोर) को रुपमा सुसुप्त अवस्थामा माटोमा ३० वर्ष भन्दा बढि समयसम्म पनि बाँचिरहन सक्छ ।
लक्षण - ३
केराको थामहरु फुट्न थाल्छन विरुवा मर्नुभन्दा पहिला जराबाट धेरै नयाँ पालुवाहरु आउन थाल्छन् । रोगको प्रकोप बढि भएको अवस्थामा केरामा फल लाग्दैन, लागी हाले पनि कोसाहरु साना हुन्छन् ।
पानामा रोग सर्न सक्ने माध्यम
यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँ सम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारहरुबाट सर्न सक्दछ । यो बाहेक पनि पानामा रोगको ढुसी केरा बोक्ने सवारी साधनको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटो मार्फत एक खेतबाट अर्को खेतमा सर्ने गर्दछ । त्यस्तै पानामा रोगको ढुसी हुरी, उच्च बर्षात्, बाढि, र सिंचाईको श्रोत वा कुलो बाट पनि सर्न सक्दछन् । कतै कतै त पानामा रोगको ढुसी खपटे किराहरु, केराको थाममा लाग्ने घुन, तथा गवाँरोको मध्यमबाट समेत सर्न सक्ने देखिएको छ । तर संक्षेपमा सङ्क्रमित माटो, पानी र औंजारहरुनै पानामा रोग विस्तारका प्रमुख श्रोत हुन् ।
व्यवस्थापनमा ध्यान दिन्नु पर्ने कुराहरु
- यो रोग माटो, पानी, कृषि औजार, उपकरण, र रोग संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले संकास्पद केरा बगैचामा जाँदा जुत्ता चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बगैचावाट निस्कनु पूर्व गहिरो खाडलमा गाड्ने वा सुरक्षित साथ जलाएर नष्ट गर्ने तथा संक्रमित बगैंचावाट केराका विरुवा तथा विरुवाजन्य उपजहरु जथाभावी अन्यत्र नलैजाने ।
- तन्तु प्रजनन् (Tissue Culture) प्रविधिबाट उत्पादित रोग मुक्त स्वस्थ बिरुवा मात्र रोपण गर्ने ।
- केरा बगैचामा प्रयोग हुने औजार, उपकरणलाई १ प्रतिशत सोडियम हाईपोक्लोराइट वा १० प्रतिशत ब्लिच (९०० एम एल पानीमा १०० एम एल व्लिच) मा उपचार गरेर मात्र अर्को फिल्डमा प्रयोग गर्ने ।
- केरा तथा केराका बिरुवा तथा बिरुवाजन्य वस्तुहरु ओसारपसार गर्ने ढुवानीको साधनहरु शंकास्पद बगैंचाभित्र प्रवेश गर्न नदिने ।
- रोग ग्रसित बगैंचामा प्रवेश निषेध गर्न साईन बोर्ड टाँस्ने ।
- रोग संक्रमित विरुवालाई रातो रिवन वा ट्यागले छुट्याउनु पर्दछ । सो क्षेत्रमा मानिस र जनावरको प्रवेशलाइ निषेध गर्नु पर्दछ ।
पानामा रोगलागेको केराको बोटमा फलेको फल खाँदा मानव स्वास्थमा भने कुनै नकरात्मक असर पर्दैन । पानामा रोग लागेको खेतमा काम गर्ने कामदारको स्वस्थ्यमा पनि टि आर ४ को कारण कुनै असर गर्दैन ।
- बगैंचामा रोगको लक्षण देख्ने वित्तिकै स्वस्थ र रोग ग्रसित सवै विरुवामा ढुसीनासक विषादी कावेन्डाजिम ५०% WL प्रतिलिटर पानीमा १ देखि ३ ग्राम मिसाई झोल तैयार गर्ने । यसरी तैयार पारिएको मिश्रण बिरुवाको वरिपरि ३ देखि ५ लिटर प्रति बोटका दरले १५ दिनको अन्तरालमा ५ पटक जरा भिज्ने गरी ड्रेन्चिंग गर्ने ।
- बगैंचालाई झारपात र केराका रोगी, सुकेका र झरेका पातपतिंगरबाट मुक्त राख्नु पर्दछ ।
- थोपा सिंचाई प्रविधि अवलम्बन गर्नु उपयुक्त हुन्छ ।
- रोग संक्रमित बगैंचाबाट अन्य बगैंचामा पानी बग्न दिनु हुँदैन ।
भारतिय नाकावाट भित्रिने केराको काइयो वा हत्ता वाहेक अन्य कुनैपनि भाग भित्रिन नदिने । व्यवसायीले केरा वोक्ने गाडीको चक्का सफा पानीले धोइ १० प्रतिशत व्लिचले निसंक्रमण उपचार गरेपछि मात्र भित्रिन दिने । सोहि प्रकृयाबाट गाडीका चालक, सहचालक लगायतका कामदारहरुले जुत्ता चप्पल निसंक्रमण गर्ने ।